Wednesday, March 31, 2010

रामदेव माथि, राष्ट्रपति तल


देवेन्द्र भट्टराई


यतिखेर सिंगो काठमाडौं सहर 'रामदेवमय' बनेको छ । नेता, राजनेता र उपनेताहरू रामदेवका आसनमा शरणागत छन् । कमरेड झलनाथदेखि कमरेड प्रचण्डसम्म र उपेन्द्र महतोदेखि रामचन्द्र पौडेलसम्म खुलामञ्चमा भेटिन थालेका छन् । अघिल्लो दिन राष्ट्रपति रामवरण यादव र भोलिपल्ट उपराष्ट्रपति परमानन्द झा 'शरणागत' बनेका देखिन्छन् । योग विज्ञानदेखि मनोविज्ञानसम्मका मन्त्रणाहरू लिनेको संख्या हजारौंबाट लाखौं पुगिसकेको छ । देशभित्र मात्रै होइन, अन्तर्राष्ट्रिय जगतमा फैलिएर बसेका २० लाखभन्दा बढी नेपालीका संरक्षक उपेन्द्र महतो पनि अहिले रामदेवका आसन अभ्यासमा मग्न छन् ।

रामदेवसँग जोडिएका यी दृश्यका माझ केही प्रत्यक्ष र केही परोक्ष सन्दर्भहरू भने निकै 'मन बिझाउने' रहे । अहिलेको राज्य संयन्त्रमा सर्वोपरि स्थानमा रहेका हाम्रा राष्ट्रपति रामवरण यादवले योगगुरु रामदेवलाई मञ्चको तलबाट विनित हुँदै अभिवादन गरेको दृश्य 'डिप्लोम्याटिक डिलिङ्ज'का अर्थमा निकै अनर्थकारी देखिन्थ्यो । पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले खुलामञ्च पुगेर 'जनयुद्ध र रामदेव योग'माथि फ्युजन प्रवचन दिएको सन्दर्भ पनि अलौकिक सुनिन्थ्यो । रामदेवका सहयात्रु आचार्य बालकृष्णले 'विश्वमा पाइनेमध्ये ६७ प्रतिशत जडिबुटी नेपालमा छ, यसको उपयोग विश्वले गर्न सक्छ' भनिरहँदा ताली बजाउने नेपाली उद्यमी-व्यवसायीहरूको भीड पनि आफैंमा रमाइलो थियो । हाम्रो औषधीमूलो लगेर विश्वले त उपचार पाउला । तर नेपाल र नेपालीले के पाउँछन् ? यो जिज्ञासा राखिदिने कसले ?

फेरि अर्को दिन खबर आयो- धुलिखेलको ९० रोपनी जग्गामा रामदेव योगकेन्द्र सञ्चालन हुने । यही खबर छापिएका दिन सिनामंगलस्थित पाथिभरा आयुर्वेदिक अस्पतालमा पुगेका एक इन्जिनियरले सुनाए-रामदेवकै अभियानका लागि स्याङ्जा-पर्वतका हजारौं रोपनी जंगल खरिद्ने प्रक्रिया थालिएको छ । योगका नाममा खुलामञ्चमा शारीरिक अभ्यास र उपmीपाप्री गरिरहेका बेला हाम्रा जडिबुटी र वनस्पतिको बजार पनि एकैसाथ 'बाहिरिँदै' गइरहेको यो दुःखान्त स्थितिका बारे किन यहाँ कोही पनि बोलिरहेका छैनन् भन्ने जिज्ञासा आफैंमा अनौठो हुनसक्छ ।
वनस्पति विज्ञहरूका अनुसार, नेपालमा ११ हजारजति वनस्पति छन्, जसमध्ये २६ सय औषधीजन्य -मेडिसिनल प्लान्ट) हामीसँग छन् । सन् १९८८ मा उत्तर कोरिया र पmान्सका विज्ञहरूको एउटा समूहले गरेको अनुसन्धानमा २६ सय जातका नेपाली जडिबुटी र वनस्पतिको प्रचुर अन्तर्राष्ट्रिय बजार रहेको खुलाएको थियो । त्यसलगत्तै दक्षिण कोरियाली विज्ञको एउटा समूहले नेपाल आएर वनआलुका बारे अनुसन्धान गरेका थिए । उनीहरूले पूर्वी पहाडी जिल्ला इलाम पुगेर त्यहाँका किसानहरूलाई 'वनआलुको खेती गर्न सक्नुहुन्छ भने हामी सुरुमै एडभान्स रकम बुझाउँछौं' समेत भनेका थिए । गिठ्ठा, भ्याकुरजस्तै औषधीजन्य तत्त्व रहेको वनआलुमा १६ किसिमका 'इनर्जेटिक इलिमेन्ट' पाइने शोध पनि कोरियाली विज्ञ समूहले गरेको थियो ।

टेरोरा, गजो, मोदेक, लाङ्घाली, भुइँचम्पा, सहस्रमूल, बिजी, चितुजस्ता दुर्लभ जडिबुटी खोज्दै नेपाल आउनेहरू आज रामदेवमात्रै होइन, थुप्रै देवहरू छन् । नेपालमा मात्रै पाइने अन्तर्राष्ट्रिय महत्त्वको 'मुभिङ प्लान्ट' -नाच्ने वनस्पति) को शोध गर्नेहरू स्वदेशी होइन, विदेशी विज्ञहरू यहाँ छन् । हाम्रा जडिबुटी प्रशोधन केन्द्र र सिंहदरबार वैद्यखाना कहीं कतै सुस्ताइरहेका बेला डाबर र अन्य अन्तर्राष्ट्रिय कम्पनीहरू हिमाल-पहाड-तराईका वनपाखामा डुलिरहेको अवस्था छ । फेरि हाम्रो सरकारी संयन्त्र कस्तो छ भने उच्चकोटीको रसायन 'स्वर्णभष्म' तयार गर्ने क्रममा विगतमा सिंहदरबार वैद्यखानाले अख्तियारसम्म धाउनुपरेको थियो । विश्वकै एकमात्र देशमा र अझ हाम्रै हिमाली भेगमा मात्र पाइने 'ट्याक्सस बोगडा' -ढ्याङग्रे सल्लो) को जरैदेखि उखेलेर लगिएको प्रमाण बाहिर आइसकेको छ । क्यान्सरका लागि अचुक औषधी रहेको 'ट्याक्सस बोगडा'को जरा ताइवानको राजधानी ताइपेइमा पाइएको समाचार धेरैअघि सार्वजनिक भइसकेको छ ।
रामदेव र उनका शिष्यहरूले 'नेपाल जडिबुटीको खानी' भनेर बोलेपछि ताली बजाउन अग्रसर हुने नेपाली नेता, राजनेता, उद्यमी र व्यवसायीहरू अहिले रामदेवमा शरणागत छन् । शरीर विज्ञानमात्रै होइन, सरकार बनाउनेदेखि ढाल्नेसम्मको अचुक उपाय 'रामदेव' हुन् भनेझैं गरी अनेक आसनमा आज्ञाकारी बालकझैं खुलामञ्चमा लम्पसार पर्नेहरूको दृश्य आफैंमा रमितलाग्दो छ । अहिलेसम्म जम्मा २२ प्रतिशत नेपालीमात्रै आयुर्वेद उपचारमा निर्भर रहेको तथ्यांकका सामु नेता-राजनेताहरूले 'पहिले आफूलाई चिन्नु' जरुरी छ । हामी नजानिँदोगरी कसरी परनिर्भर र अस्तित्वहीन बन्दै गइरहेका छौं भन्ने दृष्टान्त खोज्न धुलिखेलमा खुल्नलागेको योगकेन्द्र अथवा स्याङ्जा-पर्वतका पहाडी पाखामा अहिल्यै पुगे हुन्छ, जहाँ छिर्न अब केही महिनापछि हामी आफैंले 'पूर्वअनुमति' लिनुपर्ने हुनसक्छ ।

सिंहदरबार वैद्यखाना आज के छ, के गर्दैछ ? जडिबुटी प्रशोधन केन्द्र राजनीतिक भागबन्डाका महाप्रबन्धकलाई स्वागत अथवा विदाइ गर्न र 'सन्चो' निकाल्नबाट कति अघि बढेको छ ? यहाँ रामदेवको योगाको मात्रै कुरा छैन, हाम्रो जडिबुटी, वनस्पति, वनजंगल र अस्तित्वको पनि कुरा जोडिएको छ भनेर योगामा धाउने प्रधानमन्त्री माधवकुमार नेपालले कति बुझेका होलान् ? मधेसलाई छुने चुरे भेग र यहाँको माटो, बालुवा, ढुंगा जोगाउन मन-वचन-कर्मले लागिपर्नुभएका महामहिम राष्ट्रपतिलाई हामीकहाँ पाइने ११ हजार प्रकारका जडिबुटीबारे कत्तिको चासो र चिन्ता छ ?
हो, यो रामदेवको योगाभन्दा पनि हाम्रो अस्तित्वको कुरा हो । राज्यक्रान्तिका बेला इरानबाट देश छाडेर इजिप्ट, मोरक्को, बहमास र अन्य मुलुकमा बास खोज्दै हिँडेका पूर्वराजा मोहम्मद रेजा शाह पहल्वीले भनेका रहेछन्- 'जतिबेला म इरानमा थिएँ, त्यसबेला मैले आफ्नो देशलाई बुझ्न सकिन । अहिले मैले मेरो देश राम्ररी बुझेको छु । तर म इरानमा छैन ।' आशा गरौं, हामीले यो हदको पराकाष्ठा व्यहोर्नु नपरोस् ।

Mushroom hunters

foraging mushrooms with my dad in Jhumlawang It was a good day. Sun and cloud were playing hide and seek creating a  komorebi  (sunbeam)effe...