Thursday, March 19, 2009

असरल्ल किताब!

स्मिता मगर

किताबको रासमाथि ध्वाँसो पोतिएजस्तो दृश्य देखिन्छ । धूलोले छोपेका किताब कतै डोरीले बाँधेर बन्डलमा राखिएका छन्, केही छरपस्ट । साझा प्रकाशनको पुल्चोकस्थित मुख्यालयको किताब गोदामको दृश्य हो यो जुन महिनौं र वर्षौंदेखि उस्तै छ ।

साझा प्रकाशनभन्दा बाहिरबाट बिक्रीका लागि ल्याइएका र थन्किएर बसेका पुस्तकमा निकै नाम चलेकादेखि नामै नसुनिएकासम्मको रास छ । बच्चैदेखि किताबलाई सरस्वती मानेर ढोग्ने बानी लागेका नेपाली पाठकलाई भित्ते र्‍याकमा पुस्तक तल्र्याङ्तुर्लुङ झुन्डाइएको दृश्य अनौठो पनि लाग्छ । 'कोठामा यताउता गरेका बेला दुई/तीनपटक किताबको चाङमा ठोकिएन भने त अचम्मै हुन्छ,' स्टोरकिपर लक्ष्मण पोखरेलले हाँस्दै भने, 'अब त यो रासमा छिर्ने र पुस्तक खोज्ने बानी परिसकेको छ ।'

पोखरेलका अनुसार गोदाममा २०२२ सालमा प्रकाशन भएदेखिका पुस्तक थुपि्रएका छन् । संख्या मात्रै १ करोडको हाराहारी अनुमान छ । १० रुपैयाँदेखि ३ हजार रुपैयाँ मूल्यसम्मका पुस्तक थन्किएका छन् । उपन्यासकार धुव्रचन्द्र गौतमको उपन्यास 'मौन' देखि डायमण्ड शमशेरको 'धनको धब्बा' र कवि श्रवण मुकारुङको नाटक 'यलम्बर' सम्म थुपि्रएका छन् । सबैभन्दा बढी नबिक्ने र थुपि्रने सूचीमा कवितासंग्रह छन् । 'किरा, धमिरा र मुसाबाट जोगाउन औषधि पनि छर्कन्छौं,' पोखरेलले भने ।

साझाले बिक्रीका लागि किताब लिनुभन्दा पहिले प्रकाशक वा लेखकसँग सम्झौता गर्ने गरेको र सम्झौता गरेको तीन वर्षपछि बिक्री नभएका किताब फिर्ता लानुपर्ने सर्त रहने गरेको प्रशासन शाखाका प्रबन्धक धीरेन्द्रराज खनालले बताए । 'तर यो सम्झौताको कार्यान्वयन फाट्टफुट्टले मात्रै गर्ने गरेकाले यहाँ गोदाम भरिएको हो,' खनाल भन्छन् ।

साझाका अर्का एक कर्मचारीका अनुसार पटकपटक आफ्नो किताब लिन आउनुस् भन्ने सूचना प्रकाशन गर्दा पनि स्रष्टाहरू नआइदिनाले किताबको रास लागेको हो । लेखकहरूको ध्यानाकर्षण गर्नकै लागि भए पनि डोजर लगाएर गोदाम खाली गर्नुपर्ने स्थिति आइसकेको उनी बताउँछन् । 'तर पुस्तक जस्तोमा डोजर लगाउन पनि मिलेन,' उनले भने ।

गोदाम भरिनुमा लेखक, प्रकाशक तथा वितरक सबैको उत्तिकै कमजोरी रहेको साहित्यकार ध्रुवचन्द्र गौतमको भनाइ छ । साझाका पूर्वमहाप्रबन्धकसमेत रहेका गौतमले भने, 'सबै पुस्तक नबिक्लान् तर जति बिक्री हुनुपर्ने हो नहुनुमा साझाको वितरण प्रणाली उचित नहुनाले हो ।'

उनका अनुभवमा राम्ररी सुरक्षा नगरिदिने र बजारमा समयमा नपुर्‍याइदिनाले पनि पुस्तकको रास जमेको हो तर प्रकाशन शाखाका एक कर्मचारी भने बजारमा बिक्री नभएका र हुन नसक्ने पुस्तक गोदाममा बुझाइने 'बाध्यता' सुनाउँछन् ।

गोदाममा पुस्तक थन्किनेमध्येका कवि श्रवण मुकारुङ भने 'साझा प्रकाशनले स्वतन्त्ररूपमा पुस्तक प्रकाशन गर्नेलाई असमान व्यवहार गरेको' बताउँछन् । 'हाम्रा किताब बजारमा समयमै पुर्‍याइँदैन, प्रदशनीमा पनि राखिँदैन जब कि हाकिम, कर्मचारीका किताब भने ठाउँठाउँमा समयमै पुर्‍याइने गरेको छ ।'

लेखकको समस्या आफ्नै छ । 'आफ्ना किताब घरमा राखेर पनि के गर्ने ? बिक्री संयन्त्र छैन । मेरा केही पुस्तक साझामा थन्किएका होलान्,' उपन्याकार गौतमले भने । यता साझाका प्रबन्धक खनाल पनि स्रस्टाहरूको सहमतिमा गोदाममा थन्किएका पुस्तक पुस्तकालयलाई दिन सकिने सुझाव दिन्छन् । उनले साझाको दायित्वभित्र नभएका पुस्तक माग गरिएको अवस्थामा निःशुल्क दिन थालिएको पनि बताए । 'किरालाई ख्वाउन किन थुपार्ने ? पुस्तकप्रेमी संस्था र समुदायलाई बाँड्न थालेका छौं,' उनले भने । फेरि कवि मुकारुङ भने पुस्तकलाई बजारमै नपुर्‍याइ पुस्तकालयमा दिनु अर्को बदमासी हुने तर्क राख्छन् ।

गोदाममा 'जेल जर्नल' लगायतका केही बिकाउ पुस्तक पनि छन् जसलाई साझा कर्मचारीका अनुसार 'स्टक' मा राखिएको हो, गोदाममा थन्क्याइएको भने होइन ।

(Source:http://www.kantipuronline.com/kolnepalinews.php?&nid=185228)

No comments:

Mushroom hunters

foraging mushrooms with my dad in Jhumlawang It was a good day. Sun and cloud were playing hide and seek creating a  komorebi  (sunbeam)effe...